संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव एक मत अपुग भएर अस्वीकृत भएको हो ।

Advertisement

विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ सांसदले समर्थन गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे । ९३ सांसद रहेको कोशी प्रदेश सभामा मत विभाजनमा ८९ सांसद मात्र उपस्थित थिए । विश्वासको मतका लागि अर्थात बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्ने भएपनि ४६ जनाको मात्र समर्थन प्राप्त हुँदा कार्की नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

निर्णायक मत रहेको जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बू प्रदेश सभा बैठकमा अनुपस्थित भइन् । नेकपा एमाले संसदीय दलका नेता कार्की गत पुस २४ गते एमालेसहित नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले एमाले र माओवादी केन्द्रका दुई/दुई तथा राप्रपा र जसपाका एक/एक जना मन्त्री नियुक्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएपछि प्रदेशमा पनि माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्की विश्वासको मतका लागि प्रस्तुत भएका थिए । तर, एक मत अपुग भएर विश्वासको मत प्राप्त गर्न नसक्दा कार्की पदमुक्त भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!