संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो ।

Advertisement

आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १४ करोड ६६ लाख ८७ हजार ४ सय २७ रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिइन् । बजेटमा कृषि, सडक, पर्यटन, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको छ ।

चालु प्रशासनिक खर्च ६ करोड ५४ लाख, पालिकाको साझेदारी बजेट १ करोड ११ लाख, शिक्षा युवा तथा खेलकुद शाखालाई १ करोड ६२ लाख, वडा स्तरीय योजनाका लागि १ करोड ६५ लाख, सडक तर्फ १ करोड ४५ लाख र विद्यालय पूर्वाधार विकासका लागि १ करोड ७९ लाख बजेट बिनियोजन गरिएको छ । संघीय सशर्त, विशेष र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि २३ करोड ३७ लाख र प्रदेश ससर्त र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख बजेट तोकिएको छ ।

आन्तरिक राजश्व, केन्द्र सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तथा वित्तीय हस्तान्तरणलाई आधार मानेर बजेट निर्माण गरिएको छ । गाउँसभामा सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष मनोज राईले गाउँसभाको अर्को बैठक असार २७ गते बस्ने जानकारी दिए । सो बैठकले बजेट पारित गर्नेछ ।

यसैबीच, गाउँसभामा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जनताको सबै भन्दा नजिक स्थानीय सरकार रहेकाले जनताको आवश्यकता र चाहनालाई बुझेर काम गर्न सुझाव दिए । जिल्ला समन्वय समितिका उपप्रमुख साबित्रा राईले बजेटको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरिन् ।

घट्यो सहिदभूमिको बजेट

सहिदभूमिमा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को तुलनामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ४ करोड ८५ लाख ३१ हजार २ सय ८१ रुपैयाँले घटेको हो । चालु आर्थिक वर्ष सहिदभूमिमा ५० करोड ५४ लाख ६६ हजार ९ सय ८ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरणको हिस्सा घटेर आएकाले बजेटको आकार घटेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । ‘बजेटको माग र आवश्यकता झन् झन् बढ्दो छ, तर सङ्घबाट प्राप्त हुने बजेट घटेकाले आगामी आर्थिक वर्षको बजेटको आकार घटेको छ,’ अध्यक्ष राईले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!