संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ खुरिलामा भारतीय टाटासुमो गाडी दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–४ स्कुलडाँडाकी प्रिस्किला तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisement

एक सय किलो भन्दा बढी गाँजा बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर १० एच ४९१० नम्बरको भारतीय गाडी गत जेठ २६ गते बिहान खुरिलामा पल्टिएको थियो ।

सोही गाडीमा सवार १९ वर्षीया प्रिस्किलासहित तीन जना दुर्घटनामा घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेकी प्रिस्किलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

प्रतिष्ठानको आइसीयूमा राखेर उनको उपचार भइरहेको थियो, घटना भएको ११ दिनपछि उपचारकै क्रममा प्रिस्किलाको मृत्यु भएको हो । मृत्यु पश्चात पोस्टमार्टम गरी मंगलबार उनको शव धनकुटा ल्याएर दाहसंस्कार गरिएको छ ।

घटनाको गहन छानविन होस्: आफन्त

मृतक प्रिस्किलाका आफन्तले दुर्घटना शंकास्पद देखिएको भन्दै घटनाको विषयमा गहन छानविन गर्न माग गरेका छन् । दुर्घटना रहस्यमय देखिएको प्रिस्किलाका फुपाजु गौरी लामा बताउँछन् । उनी भन्छन्, ‘यो घटना रहस्यमय छ, पुलिसले यो विषयलाई गम्भीर रुपमा लिएर छानविन गर्नुपर्छ ।’

इटहरीमा बसेर अध्ययन गर्दै गरेकी प्रिस्किला धनकुटास्थित घर आएका थिइन् । उनी घरबाट इटहरी जान स्कुलडाँडाबाट सो गाडीमा चढेको बताइएको छ । लुकाएर गाँजा लैजाँदै गरेको सो गाडीमा युवाहरू मात्र थिए ।

गाडीमा प्रिस्किलामाथि दुर्व्यवहारका क्रममा दुर्घटना भएको हुनसक्ने लामा बताउँछन् । ‘गाडीमा अरु सबै केटै केटा मात्र रहेछन्, एक जना केटी मान्छे मात्र हुँदा उमाथि बलात्कार भएको हुनसक्छ,’ लामा भन्छन्, ‘दुर्घटनापछि नानीको होस् नखुली मृत्यु भएकाले सोधपुछ गर्न त पाइएन, तर उ मात्रै गम्भीर घाइते हुनु, अरुलाई सामान्य चोट मात्र लाग्नु, शरीरमा चिथोरेको जस्तो डाम देखिनु जस्ता कारणले यो घटना रहस्यमय छ ।’

यसअघि प्रकाशित समाचार…

धनकुटामा गाँजा बोकेको भारतीय गाडी दुर्घटना, तीन जना घाइते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!