रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा आज विवाह मण्डपबाटै बेहुला-बेहुली पक्राउ परेका छन् । बालविवाह गर्दै गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट दुलहा नरेश मग्रान्ती र दुलही सफला खड्कालाई पक्राउ गरेको हो ।

Advertisement

बालविवाह हुँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले संगालोखबरलाई जानकारी दिए । ‘उमेर नपुगी बालविवाह हुँदै गरेको खबर आएपछि विवाह मण्डपबाटै बेहुला-बेहुलीलाई नियन्त्रणमा लिएका छौं,’ डीएसपी कुँवरले संगालोखबरसँग भने, ‘हामी थप बुझ्दैछौ, विवाह गर्ने/गराउँनेलाई पनि कारबाही हुन्छ ।’

२० वर्ष नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान छ । तर, दुलाहा-दुलही दुवैको विवाह गर्ने उमेर पुगेको छैन । दुलहा नरेश १९ वर्षका भए भने दुलही सफला १५ वर्षमात्र पुगेकी छन् । अन्तरजातका कारण परिवार मञ्जुर नदेखिएपछि उनीहरूले गत बैशाख १ गते भागी विवाह गरेका थिए ।

बेहुला बेहुलीलाई पक्राउ गरेर प्रहरी कार्यालय ल्याइदै । तस्वीरः रबिन कटेल/संगालोखबर

दुवै जना एक भएपछि नरेशको परिवारले देव्रेवासस्थित घरमा औपचारिक विवाह गर्ने क्रममा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । विवाहमा छरछिमेकीलाई पनि डाकिएको थियो, गाउँका धेरै मानिस भेला भएका थिए । विवाह मण्डपमा टिका लगाउँने क्रम चलिरहेका बेला साँझ करिब ५ बजे बेहुला बेहुलीलाई प्रहरीले पक्राउ गरेको स्थानीय निर्मला राई बताउँछिन् । ‘बिहे चलिरहेको थियो, टिकाटालोको काम भइरहेका बेला एक्कासि पुलिस आएर बेहुला–बेहुली दुवैलाई पक्रेर लग्यो,’ उनी भन्छिन्, ‘बेहुला बेहुलीलाई नै पुलिसले लगेपछि बिहे त त्यत्तिकै बिथोलियो, हामी सबै छक्क पर्यौ ।’

देब्रेवास घर भएका नरेश र कचिँडे घर भएकी सफला लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको प्रेम सम्बन्ध परिवारले थाहा पाएपछि छुटाउने प्रयास पनि गरिएको थियो । तर, उनीहरु कुनैपनि हालतमा नछुट्ने पक्षमा थिए । जवरजस्त छुटाउन खोज्दा नरेशले झुन्डिएर आत्महत्या प्रयाससमेत गरेको स्थानीयवासी बताउँछन् । आत्महत्या प्रयास गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई विराटनगरस्थित अस्पतालमा चार दिन राखेर उपचार गरी निको भएपछि घर फर्काइएको थियो ।

पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएका बेहुलाबेहुली र उनीहरूका आफन्त । तस्वीरः रबिन कटेल/संगालोखबर

दुवै जना कुनैपनि हालतमा नछुट्ने देखिएपछि जेसुकै गरुन् भनेर छोडेको धनकुटा–६ कचिँडे निवासी सफलाका बुवा आशिक खड्का बताउँछन् ।

यता, दुलहा नरेशकी आमा मैयाले २० वर्ष नपुगी विवाह गर्न नहुने कानून थाहा नभएकाले विवाह गर्दिएको प्रतिक्रिया दिइन् । ‘२० वर्ष नपुगी बिहे गर्नु हुदैन भन्ने हामीलाई थाहा थिएन,’ उनी भन्छिन्, ‘यसरी फसाद पर्छ भन्ने थाहा भएको भए त बिहे नै गर्दिने थिएनौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!