- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली कांग्रेस धनकुटाले युवा नेता विकास घिमिरेलाई जिल्ला सचिवको जिम्मेवारी प्रदान गरेको छ । जनता समाजवादी पार्टीको जिल्ला उपाध्यक्ष पद छोडेर कांग्रेसमा आएका नेता घिमिरेलाई कांग्रेस जिल्ला सचिवको जिम्मेवारी दिइएको हो ।

Advertisement

घिमिरेसँगै जसपाको सचिव पद छोडेर आएका श्रीराम रायमाझीलाई कांग्रेसले सह–सचिव बनाएको छ भने जसपाको धनकुटा नगर अध्यक्ष पदत्याग गरेर आएका दिलकुमार राईलाई नगरको उपसभापति पद दिइएको छ । धनकुटामा बिहीबार आयोजित नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले उनीहरूलाई जिम्मेवारीसहितको प्रमाण पत्र प्रदान गरेका छन् ।

गत कात्तिकमा घिमिरेसहितका नेता कार्यकर्ताले जसपाबाट सामूहिक राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । घिमिरे धनकुटा वडा नं.३ का निर्वाचित वडाध्यक्षसमेत हुन् । सम्भावना बोकेको युवा नेताको रुपमा चिनिँदै गएका घिमिरे सो वडामा दुई पटक वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । मूलधारका ठूला दललाई पछि पार्दै घिमिरे ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नयाँ शक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मजबुत संगठन नभएतापनि व्यक्तिगत लोकप्रियताका कारण ठूला दलका उम्मेदवारलाई पराजित गर्न सफल भएको भन्दै घिमिरेको चर्चा भएको थियो । पार्टी प्रवेश गरेको सात महिनापछि जिल्ला सचिव पद पाएका घिमिरेले पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!