- गोमा ढुंगाना/संगालोखबर

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलेस्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालले आज आत्मदाह गरेका छन् । ५० वर्षीय लेखापाल ढकालले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

Advertisement

केराइबन घर भएका ढकालले बिहान करिब ५ बजे विद्यालय परिसरमा पुगेर शरीरमा आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । आगोले शरीर जलेर गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।

कोशी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको विद्यालयका शिक्षक कुलवीर खवासले जानकारी दिए । ‘आज शनिवार भएकाले स्कुल छुट्टी थियो, उहाँले बिहानै स्कुलमा आएर शरीरमा आगो लगाउनु भएछ,’ शिक्षक खवासले संगालोखबरसँग भने, ‘किन यसो गर्नुभयो भन्ने ठम्याउनै सकिएको छैन, हामी अचम्ममा परिरहेका छौं ।’

विद्यालयको शौचालयमा बीसको बट्टा पनि फेला परेको हुनाले ढकालले बीस सेवन गरेर शरीरमा आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको यकिन कारण भने खुलेको छैन । मृतक ढकालका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!