- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियान सुरु भएको छ । पत्रकारितामा क्रियाशील नरहेका सदस्यहरूलाई बिदाई गरेर महासंघलाई क्रियाशील पत्रकारहरूको संस्था बनाउँन सदस्यता शुद्धिकरण अभियान सुरु गरिएको हो ।

Advertisement

आज बसेको जिल्ला कार्यसमितिको बैठकले सदस्यता शुद्धिकरण गर्ने निर्णय गर्दै पत्रकारितामा क्रियाशील नरहेका सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न आव्हान गरेको छ । महासंघको केन्द्रिय समितिले ‘नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’ जारी गरेको छ । सोही अनरुप महासंघको कोशी प्रदेश समितिले पनि गत बैशाख २१ गते प्रेस विज्ञप्ति जारी गर्दै मापदण्डमा नपर्ने सदस्यहरूलाई सदस्यता प्रदान नगर्ने र त्यस्ता सदस्यहरूको सदस्यता नवीकरण पनि गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।

पत्रकारितामा तीन वर्षदेखि सक्रिय नरहेका, राजनीतिक दलको कुनैपनि समितिको पदाधिकारी रहेका, जनप्रतिनिधि, नेपाल सरकार तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाका कर्मचारी, मिडिया संस्थानबाहेक संस्थानका कर्मचारी, कहिलेकाँही मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारीले महासंघको सदस्य रहन नपाउने गरी मापदण्ड जारी भएको छ । त्यस्तै, मुख्य पेसा वा व्यवसाय पत्रकारिताबाहेक अन्य रहेका, सञ्चार माध्यमका व्यवस्थापक बजार प्रतिनिधि र प्रशासनिक कर्मचारी, राजनीतिक दलको कुनैपनि समितिमा सक्रिय रहेका महासंघ कार्यसमितिका पदाधिकारी तथा सदस्य र छ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिको सदस्यता नवीकरण नगर्ने र त्यस्ता व्यक्तिलाई नयाँ सदस्यता पनि नदिइने महासंघको मापदण्ड छ ।

सोही मापदण्ड अनुसार सदस्य रहन अयोग्य सदस्यहरूलाई महासंघको बैठकले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न आव्हान गरेको महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले बताए । ‘पत्रकारितामा नरहेका र मापदण्ड भित्र नपर्ने सदस्यहरूलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न आग्रह गरेका हौं,’ अध्यक्ष राईले भने, ‘मापदण्ड भित्र नपर्नेहरूले इमान्दारितापूर्वक सदस्यता परित्याग गर्नुहुन्छ भन्ने लागेको छ ।’

सदस्यता शुद्धिकरणका विषयमा थप छलफलका लागि महासंघले आगामी बिहीबार बिहान ७ बजे जिल्लामा क्रियाशील पत्रकारसम्बद्ध संघसंगठनसँग सर्वपक्षीय बैठकसमेत आव्हान गरेको छ ।

शुद्धिकरणमा प्रेस चौतारीको जोड

प्रेस चौतारी धनकुटाले पनि महासंघको सदस्यता शुद्धिकरणमा जोड दिएको छ । चौतारीको गत शनिवार सम्पन्न साधारण सभाले सदस्यता शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न माग गर्दै शुद्धिकरण अभियानमा कडाइका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

चौतारीको त्यसअघि बसेको जिल्ला कार्यसमितिको बैठकले पनि सदस्यता शुद्धिकरणमा कडाइका साथ प्रस्तुत हुने निर्णय गरेको थियो । सो बैठकले सदस्यता शुद्धिकरण अभियानमा समन्वयका लागि प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन कटेलसहित सल्लाहकारहरू सन्तोष रुचाल, भेषराज कटेल र रमेशचन्द्र अधिकारी सम्मिलित समिति पनि गठन गरेको छ ।

पत्रकार महासंघको बैठकमा पनि चौतारी सम्बद्ध पदाधिकारी, सदस्य र सल्लाहकारहरूले शुद्धिकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका थिए ।

पत्रकार महासंघको धनकुटा शाखामा १५५ जना साधारण सदस्य छन् । तर, क्रियाशील पत्रकारको संख्या भने ५० भन्दा कम छ । महासंघमा गैरपत्रकारको संख्या बढी भएपछि सदस्यता शुद्धिकरणको आवाज उठ्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!