संगालोखबर सम्बाददाता

धनकुटा । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको विरोधमा आज धनकुटामा चक्काजाम गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विहान १०ः३० देखि ११ बजेसम्म आधा घण्टा कोशी राजमार्गमा चक्काजाम गरेको हो ।

Advertisement

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसको माथिल्लो गेट नजिक राजमार्गमा भेला भएर विद्यार्थीहरूले नारावाजी गर्दै सवारी आवतजावत ठप्प पारेका थिए । उनीहरूले ‘नालायक प्रधानमन्त्री राजीनामा दे, रामचन्द्र पौडेल चाहिदैन, हत्यारालाई छोड्न पाइदैन, दोषीलाई कारबाही गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका छन् । चक्काजामका कारण दर्जनौं सवारी साधन रोकिएका थिए ।

चक्काजामपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश गिरीले जघन्य घटनाका दोषीलाई आममाफी दिएर सरकारले पीडित पक्षलाई उल्टै पीडा थप्दै कानूनी राज्यको उपहास गरेको बताए ।

राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका बेला २०७२ भदौं ७ गते टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालक मारिएका थिए ।

सडकमा प्रदर्शन गर्दै विद्यार्थीहरू । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सोही घटनाका मुख्य योजनाकार चौधरीलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेपछि उनी पाँच वर्ष तीन महिना अघिदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा चौधरीलाई १४ वर्ष ९ महिना कैद मिनाहा गरिएपछि आज बिहान उनी जेलमुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!