संगालोखबर सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले बैंकहरूको चर्को ब्याजदर घटाउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले चर्को ब्याजदरका कारण मान्छेहरु आत्महत्या गर्न बाध्य भइरहेको उदाहरण दिदैँ बैंकको ब्याजदर घटाउँने वातावरण मिलाउँन सरकारसँग माग गरेका हुन् ।

Advertisement

विगत १० महिनाको अवधिमा २२ हजार मानिसहरु बैंकको कालोसूचीमा परेको तथ्यांक बताउँदै सांसद शर्माले उच्च ब्याजदरका कारण ऋण तिर्न नसकेर मानिसहरु आत्महत्या गरिरहेको उल्लेख गरे । एक वर्षअघि ६/७ प्रतिशत रहेको ब्याजदर बढाएर अहिले १८/२२ प्रतिशतसम्म पर्याएर जनतामाथि बैंकहरुले लुट मच्चाइरहँदा सरकार मुकदर्शक बन्न नहुने उनको तर्क छ ।

सदनमा सांसदहरुले पटक-पटक आवाज उठाउँदा पनि ब्याजदर घटाउने विषय नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै उनले असन्तुष्टि जनाए । सरकारको गलत नीतिका कारण मान्छेले आत्महत्या गर्न बाध्य हुन्छ भने त्यसको भागिदार प्रधानमन्त्रीसहित गठबन्धन सरकार हुनुपर्ने भन्दै उनले आक्रोश पोखे । ‘नेपाली जनताको अहिलेको मुख्य समस्या बैंकहरुको उच्च ब्याजदर हो, बैंकको लुटतन्त्रका कारण जनता मारमा छन्,’ सांसद शर्माले भने, ‘सरकारले एक दिनपनि ढिला नगरी त्यसलाई हल गर्नुपर्छ, यो समस्याबाट तपाईंहरू भाग्न सक्नुहुन्न, भाग्न खोज्नु पनि हुदैन ।’

सरल ऋणको व्यवस्था गरेर विद्यार्थीहरुलाई राम्रो र रोजगारमूलक शिक्षा लिने वातावरण मिलाउनुपर्ने उनले आवश्यकता औँल्याए । सांसद शर्माले नीति तथा कार्यक्रममा राख्नुपर्ने कतिपय कुरा नराखेर धेरैकुरा कपिपेष्ट गरिएको टिप्पणी पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!