संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेशमा ९६.८ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा बिहीबार सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये ३.२ प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

Advertisement

राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको सङ्ख्या ३०.३ प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ (५१.२८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ (४८.७२ ) प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

वि.सं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसङ्ख्या ४५ लाख ३४ हजार नौ ४३ थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको सङ्ख्या दुई हजार नौ सय २८ (०.०१ प्रतिशत) मध्ये प्रदेशमा यसको १०.४ प्रतिशत छ । प्रदेशमा वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी १.९७ प्रतिशत र सबैभन्दा कम खोटाङमा छ ।

जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्याको ६२.८ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसङ्ख्या क्रमशः २६ प्रतिशत र ११.२ प्रतिशत छ । प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या मोरङमा ११ लाख ४८ हजार १५६ जना छन् भने सबैभन्दा कम जनसङ्ख्या तेह्रथुममा ८८ हजार ७३१ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसङ्ख्या भएका जिल्ला हुन् भने कम जनसङ्ख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । प्रदेशमा ५३.४ प्रतिशत परिवारले खाना पकाउन काठ/दाउराको प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको क्रमशः ४१.२, ३.४, १.३, ०.५, ०.०४ र ०.२ प्रतिशत छ ।

जनगणना अनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार ५५६ परिवारमध्ये ३०.९ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा ४.६ प्रतिशत बढी छ । प्रदेशका कूल जनसङ्ख्याको २.४ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको मध्ये पुरुष ५३.९ प्रतिशत र महिला ४६.१ प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसङ्ख्यामा ७९.७ प्रतिशत साक्षरता रहेको मध्ये पुरुषको ८६.१ प्रतिशत र महिला ७३.६ प्रतिशत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!