- रबिन कटेल/संगालोखबर

धनकुटा । पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । धनकुटा नगरपालिका–३ सेउलेस्थित वाग्ले सामुदायिक बन र देब्रेवासको बनमा डढेलोका कारण खानेपानीको करिब ३ किलोमिटर पाइप लाइनमा क्षति पुगेको छ ।

Advertisement

बञ्चरे खोलाबाट ‘पम्पिङ’ गरेर पानी ल्याउन प्रयोग गरिएको नौ वटा पम्प पनि विद्युत गडबडीका कारण जलेपछि धनकुटामा दुई साता यता खानेपानी वितरणमा समस्या आएको हो । जसका कारण बजारमा खानेपानीको चरम अभाव छ । धनकुटा बजारमा पानीको हाहाकार भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । खानेपानीको संकट टार्न धनकुटा नगरपालिकाले मङ्गलबारबाट वैकल्पिक उपाय स्वरुप दमकलबाट घरघरमा पानी पुर्याउन थालेको हो ।

धारामा नियमित पानी नआउँदासम्मका लागि वैकल्पिक रुपमा दमकलबाट पानी वितरण गर्न थालिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘जतिसक्दो चाडो नियमित पानी वितरणका लागि हामी लागिपरिरहेका छौं, दिनरात नभनी काम भइरहेको छ, जलेको पाइप फेर्ने काम सकिएको छ, बिग्रिएको पम्प पनि बनिसक्न लागेकाले अब लगभग भोलि बिहानबाट धारामा नियमित पानी आउँछ,’ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षसमेत रहेका मेयर तामाङले भने, ‘अहिले पनि बिभिन्न ठाउँमा पानी गइरहेको छ । सबैतिर धारामा नियमित पानी नजाँदासम्म दमकलबाट पानी वितरण गछौँ ।’

मंगलबार धनकुटा नगरपालिकाको दुई वटा दमकलबाट बसपार्क, श्रीवानी, डाँडागाउँ, हुलाकटोल, परिचयमोड लगायत क्षेत्रमा ६० हजार लिटर पानी वितरण गरिएको छ । चार हजार लिटर क्षमताका दमकलले खोलाबाट १५ पटक पानी ल्याएर बजारमा वितरण गरेका हुन् । बुधबार तल्लोकोप्चे, माथ्लोकोप्चे, कर्मीटार लगायत क्षेत्रमा दमकलबाटै पानी वितरण गरिदैछ ।

समस्या समाधान हुँदैछ, अब नियमित पानी आउँछ: उपभोक्ता समिति

डढेलोका कारण पाइपलाइन जलेको ५८ ठाउँमा १४७ मिटर पाइप फेरिएको छ । जसका कारण मङ्गलबारबाट धनकुटा-१ स्थित छरछरे र लाङदाङ खोलाको मुहानबाट पानी आउँन थालेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष नरेन्द्र पोखरेलले बताए । उनका अनुसार मङ्गलबारबाटै बजार क्षेत्रमा केही समय पानी वितरण थालिएको छ ।

तर, छरछरे र लाङदाङ खोलामा पानी सुक्दै गएकाले यहाँको माग अनुसार पर्याप्त पानी आउँने अवस्था छैन । धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । पर्याप्त पानी उपलब्ध हुन बञ्चरे खोलाको पानी पनि आउँनुपर्छ । बञ्चरे खोलाको पानी करिब ९ किलोमिटर तलबाट ‘पम्पिङ’ गरी स्कुलडाँडाको ट्याङ्कीमा ल्याएर जम्मा गरी बजार क्षेत्रमा वितरण गर्ने गरिएको छ । विद्युत गडबडीका कारण त्यहाँका १२ मध्ये नौं वटा पम्प जलेपछि समस्या भएको हो । भारतको देहरादुनबाट सामान ल्याएर पम्प मर्मतको काम भइरहेको छ ।

अब, आज बेलुकासम्ममा पम्प मर्मतको काम सकिने भएकाले भोलि बिहानबाट नियमित पानी वितरण हुने उपाध्यक्ष पोखरेलले बताए । अहिले पनि ठाउँ-ठाउँ पानी वितरण भइरहेको र भोलि बिहानबाट सबैतिर नियमित पानी वितरण थालिने उनको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!