- संगालोखबर सम्बाददाता

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई नगद दुई लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो । 

Advertisement

कक्षा ६ देखि ९ सम्मका समग्र विद्यार्थीको नतिजाका आधारमा सरस्वती माध्यमिक विद्यालय अर्खौले (१.०७ जीपीए) सहित प्रथम भएको छ । प्रथम हुने सरस्वती माविले दुई लाख पुरस्कार पाउने नगरपालिकाले जनाएको छ । त्यस्तै कालिका मावि बाहुनीडाँडा (०.९० जीपीए) सहित दोस्रो र बुलापन्थे मावि धितुङ (०.८४ जीपीए) सहित तेस्रो भएका छन् । दोस्रो हुने विद्यालयलाई ५० हजार र तेस्रो हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

कक्षा ४ र ५ का समग्र विद्यार्थीको नतिजाका आधारमा खोक्सेली आधारभुत विद्यालय बडहरे (२.२४ जीपीए) प्रथम, बोझेओडार आवि बडहरे (२.२१ जीपीए) दोस्रो र जनचेतना आवि बाहुनीडाँडा (२.०८ जीपीए) ल्याएर तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५०, २० र १० हजार नगद पुरस्कार पाउने छन् । 

कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा डिकुवा आवि डिकुवा (१.३४ जीपीए) प्रथम, शान्ति आवि बडहरे (१ं.२७ जीपीए) दोस्रो र हिमगंगा आवि राजापानी (१.२६ जीपीए) सहित तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५५, २५ र १५ हजार नगद पुरस्कार पाउने छन् ।
कार्यक्रम आयोजना गरेर विद्यालय तथा विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!