- संगालोखबर सम्बाददाता

सुनसरी । बचतकर्ताहरूले एभरेष्ट बैंकको इटहरी शाखामा जम्मा गरेको डेढ करोड भन्दा बढी रकम बैंककै कर्मचारीको मिलेमतोमा चोरी भएको छ । ३३ जना बचतकर्ताको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

Advertisement

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकका शाखा प्रबन्धकसहित नौं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंककै कर्मचारी हुन् भने दुई जना पैसा निकाल्न सघाउने व्यक्ति छन् ।

शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे–८ का विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इन्चार्ज विराटनगर–८ का निरज प्रधान, इटहरी शाखाका सुपरभाइजर दावा लामा, बैंकका कनिष्ठ सहायकहरु मनोज घिमिरे, देवराज शर्मा, रञ्जित पण्डित र टेलर ३० वर्षीय पवित्रा कटुवाल पक्राउ परेका हुन् । त्यस्तै, धनुषाको मिथिला नगरपालिका–११ का शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का अजय खिउजूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा सो रकम चोरी गरेका हुन् । ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरेर ५९ पटकमा एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै कोर बैंकिङ सिस्टम (सीबीएस) बाट निस्क्रिय खातामा पैसा पठाएर नक्कली चेक प्रयोग गरी ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालेको भेटिएको छ । ग्राहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको पाइएको छ ।

घटनामा संलग्नहरूलाई पक्राउ गरी बैकिङ कसुर र सङ्गठित अपराध कसुरमा मुद्दा दायर गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!