- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा पनि भ्रष्टाचार विरुद्धको अभियान थालिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विशिष्ट व्यक्तिहरू पक्राउ परिरहेका बेला जिल्लामा पनि भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको हो । मानव अधिकार एलाइन्सले अगुवाइ गरेको अभियानमा अन्य सङ्घसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।

Advertisement

अभियान अन्तर्गत बुधबार धनकुटामा भ्रष्टाचार विरुद्धको नागरिक र्‍याली गरिएको छ । भ्रष्टाचारको विरोध गर्दै कालो ब्यानरसहित प्लेकार्ड बोकेर जुलुस निकालिएको हो । ‘भ्रष्टाचारको विषयमा निष्पक्ष छानविन गर, भ्रष्टाचारीलाई कारबाही गर, मानव तस्करी बन्द गर, मानव अधिकारको प्रत्याभूति गर, देशमा सुशासन कायम गर’ लगायत नारा लेखिएका प्लेकार्ड छातीमा टासेर प्रदर्शन गरिएको हो ।

देशमा भ्रष्टाचार मौलाउँदै गएकाले त्यसको विरोध गर्दै नागरिकलाई सचेत गराउँन अभियान थालिएको मानव अधिकार एलाइन्सका अध्यक्ष केदार दाहालले बताए । ‘भ्रष्टाचार विरुद्धको जुलुस निकालेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छौं,’ दाहालले संगालोखबरसँग भने, ‘अब, केन्द्रको घटनाक्रम अनुसार धनकुटामा पनि भ्रष्टाचार विरोधी अभियान अघि बढाउँछौ ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

ब्यानर र प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । मानवअधिकार एलाइन्ससहित बिभिन्न सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

एलाइन्सका अध्यक्ष दाहालले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री समक्ष पत्र पुर्याइदिन आग्रह गरे । सो पत्रमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउँने कार्यमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरिएको छ ।

‘सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरुसमेत संलग्न भई गलत ढंगले नागरिकहरूलाई अन्य मुलुकमा पठाउँनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग हो,’ पत्रमा भनिएको छ, ‘नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका आपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था शासन प्रणाली, राजनीतिक दलहरू र कानूनी शासन प्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो । यस्ता आपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारबाही गरिनु पर्दछ ।’

बिभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी अन्य सम्पूर्ण घटनाहरूको पनि निष्पक्ष र पारदर्शी ढंगले छानविन गरी दोषीलाई कानूनी कठघरामा उभ्याउन पनि एलाइन्सले प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!