- संगालोखबर सम्बाददाता
तस्वीर: सन्तोष सुवेदी/ संगालोखबर

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौँले धनकुटामा सञ्चालित १५ औं भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो ।

खेलको ४५ औं मिनेटमा प्लानिङ ब्वाइजका जर्सी नं.२० का यो नेपोलियनले गोल गर्दै टिमको खाता खोलेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नं.१३ का विशाल दर्जीले गोल थप्दै प्लानिङ ब्वाइजलाई २-० ले अग्रता दिए । २८ औं मिनेटमा पुनः नेपोलियनले गोल गरेर खेललाई ३-० मा पुर्याए । ४४ औं मिनेटमा जर्सी नं.९ का समिर थापाले गोल थप्दै प्लानिङ ब्वाइजलाई ४-० ले विजयी गराउँन सफल भएका हुन् । निर्धारित ९० मिनेटको खेलमा पटक-पटक पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा वीरगञ्ज उपविजेतामा सीमित बन्यो ।

Advertisement

प्लानिङ ब्वाइजका डेडी वाम्वा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्लानिङ ब्वाइजकै लोकेश चौधरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, विशाल दर्जी वेस्ट डिफेन्डर, यो निपोलियन वेस्ट स्ट्राइकर, सचिन्द्र धिमाल वेस्ट कोच र वीरगञ्ज युनाइटेडका उमेश कार्की वेस्ट मिडफिल्डर बने । प्लानिङ ब्वाइजका अभिनास थापा फाइनल खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । उपाधिसँगै प्लानिङ ब्वाइजले ५ लाख प्राप्त गरेको छ भने उपविजेता वीरगञ्जले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

विजेता टिम तथा खेलाडीहरूलाई संविधानसभा सदस्य द्वय मनोहरनारायण श्रेष्ठ र लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, एन्फाका उपाध्यक्ष दावा लामा, आयोजक समितिका अध्यक्ष शम्भु प्रधान लगायतले पुरस्कार हस्तान्तरण गरेका छन् ।

सहिद भिमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!