- संगालोखबर सम्बाददाता
एपीएफको पोस्टमा बल प्रहार गर्दै वीरगञ्ज युनाइटेडका खेलाडी । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । साविक विजेता एपीएफ काठमाडौँलाई ट्राइबेकरमा पराजित गर्दै वीरगञ्ज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । टुँडिखेलमा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राइबेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै वीरगञ्जले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुई-दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको  थियो । ट्राइबेकरमा वीरगञ्ज युनाइटेडका जर्सी नम्बर ३ का श्याम चौधरी, जर्सी नम्बर ४ का सिसास थापा, जर्सी नम्बर ८ का उमेश कार्की र जर्सी नम्बर १३ का अभिषेक चौधरीले गोल गर्दै टिमलाई बिजयी गराए । एपीएफका जर्सी नम्बर ४ का विरेन्द्रप्रसाद थारूले गरेको प्रहार गोलमा परिणत भयो, अरुले गोल गर्न नसक्दा गत संस्करणको भीमनारायण गोल्डकप विजेता एपीएफ सेमिफाइनल नपुगी प्रतियोगिताबाटै बाहिरिएको छ ।

Advertisement

खेलको २३ औं मिनेटमा वीरगञ्जका निरज थापाले गोल गर्दै टिमको खाता खोलेका थिए । ६३ औं मिनेटमा एपीएफका सन्तोष कटुवालले गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याए । ७३ औं मिनेटमा एपीएफका विरेन्द्रप्रसाद यादवले दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित भयो ।

एपीएफका प्रविण स्याङदेनले ८४ आंै मिनेटमा गोल थप्दै टिमलाई दुई-एक गोलले अग्रता दिलाए । एपीएफले गोल गरेको दुई मिनेट बित्न नपाउँदै ८६ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गर्दै खेललाई दुई-दुई गोलको बराबरीमा ल्याए । निर्धारित समयमा थप गोल हुन नसकी बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । वीरगञ्ज युनाइटेडका गोल रक्षक दिलमणी चौधरी खेलको म्यान अफ दी म्याच घोषित भए ।

योसँगै प्रतियोगिताको क्वाटरफाइनल खेल सकिएको छ । अब, आइतबार हुने पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँ भिड्दैछन् । आयोजक धनकुटालाई ट्राइबेकरमा हराउँदै पेमा सेमिफाइनल प्रवेश गरेको हो भने भारतको सिलिगुडीस्थित कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज सेमिफाइनल पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!