- संगालोखबर सम्बाददाता

विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो ।

Advertisement

जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्सहरुलाई बिरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ सङ्घलाई आफ्नो भूमिका अब्बल बनाउँन शुभकामना दिइन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माकी आमासमेत रहेकी न्यौपानेले नर्सिङ संघको कार्यालयलाई व्यवस्थित गर्न थप ५० हजार प्रदान गर्ने घोषणा पनि गरिन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका-४ का वडाध्यक्ष जितन थापाले नर्सिङ सङ्घलाई आगामी दिनमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक तथा जग्गादाता इन्दिरा शर्माले भवन निर्माणपछि नर्सिङ संघको संस्थागत गतिविधि सञ्चालन गर्न सहजता मिल्ने विश्वास व्यक्त गरिन् । उनले भवन निर्माणका लागि यसअघि १ लाख ५० हजार सहयोग पनि गरेकी थिइन् । जग्गादाता होमादेवी र इन्दिरा सासु-बुहारी हुन् । उनीहरूको परिवारले चार वर्षअघि नर्सिङ सङ्घलाई नोबेल अस्पताल परिसरमा १० धुर जग्गा प्रदान गरेको थियो ।

सोही जग्गामा करिब ४० लाखको लागतमा नर्सिङ संघको भवन निर्माण गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् । उनका अनुसार भवन निर्माणका लागि नर्सिङ संघ केन्द्रिय कमिटीले २५ लाख उपलब्ध गराएको थियो, बाँकी रकम जुटाएर भवन बनाइएको हो ।

यसैबीच, कार्यक्रममा जग्गादाता होमादेवी र नर्सिङ संघका केन्द्रिय सदस्य अञ्जुला कार्कीलाई सम्मान गरिएको छ । जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै न्यौपाने र भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्कीलाई सम्मान गरिएको हो । उनीहरूलाई नर्सिङ संघका अध्यक्ष कविता अधिकारी र सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!