- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा हालसम्मकै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनकुटा नगरपालिका-९ मूलघाटबाट एकैपटक पाँच सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा राखेर तराईतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान गाँजा फेला परेको धनकुटाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । प्लाष्टिकले प्याक गरेर १७ वटा बोरामा राखिएको अवस्थामा ट्रकमा गाँजा फेला परेको हो ।

गाडी रोकेर चेकजाँच गर्ने क्रममा उत्रिएर चालक भागेका छन् । उनलाई पक्राउ गर्न पछ्याउँदै कुद्ने क्रममा प्रहरी हवल्दार शेरबहादुर तामाङ घाइते भएका छन् । गाँजा कहाँबाट ल्याइएको र कहाँ लगिएको यकिन भएको छैन । तर, सहिदभूमि क्षेत्रबाट ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘सहिदभूमि तिरबाटै गाँजा ल्याइएको हो कि भन्ने अनुमान गरेका छौं,’ प्रहरी निरीक्षक श्रेष्ठले संगालोखबरसँग भने, ‘धनकुटामा यत्ति धेरै गाँजा एकै पटक भेटिएको थिएन, यो हालसम्मकै सबैभन्दा बढी हो ।’

धनकुटा प्रहरीको तथ्यांक अनुसार जिल्लामा एकैपटक बरामद भएको यो सबैभन्दा बढी परिमाणको गाँजा हो । यसअघि गत माघ २८ गते राती छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअपमा राखेर हिलेतर्फ ल्याउँदै गर्दा सहिदभूमि-४ बाट चार सय किलो गाँजा बरामद भएको थियो । त्यसअघि पनि हरेक वर्ष धनकुटामा पटकपटक गाँजा बरामद हुने गरेपनि यत्ति ठूलो मात्रामा भेटिएको थिएन ।

कानूनले बर्जित गरेपनि धनकुटाको सहिदभूमिसहित विभिन्न क्षेत्रमा गाँजा खेती हुने गरेको छ । गाँजा खेती गर्नेहरूले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गर्ने गरेका छन् । केही नेताहरूले पनि प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज उठाएका छन् । तरपनि, कानूनी मान्यता नभएकाले गाँजाको उत्पादन, ओसारपसार र बिक्रीवितरण प्रतिबन्धित मानिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!