- संगालोखबर सम्बाददाता

विराटनगर । टेलिभिजन चोरी गर्ने दुई जनालाई मोरङको बुढिगंगाबाट प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र १९ वर्षीय सन्दिप कुमार ऋषिदेवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बुढीगंगा–४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट गत चैत २८ गते २१ थान टेलिभिजन सेट चोरी भएको थियो । राती गोदामको झ्यालको रड काटेर हाइसेन्स कम्पनीका ३९ इन्चका टेलिभिजन सेटहरु चोरिएको थियो । चोरीमा संलग्नको खोजीमा जुटेको प्रहरीले घटना भएको एक महिनापछि कोशन र सन्दिपलाई पक्राउ गरेको हो । स्थानीय एक घरमा राखिएको नयाँ टिभीमा शंका लागेपछि सोधपुछ गर्ने क्रममा चोर पत्ता लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

‘चोरी भएको केही दिनपछि एउटा घरमा नयाँ टिभी देखियो, हराएका टिभी र त्यो टिभी उही थियो, टिभी कहाँबाट आयो भनेर सोधपुछ गर्ने क्रममा घटना खुल्दै गयो,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘चोरी गर्ने व्यक्ति पत्ता लागेपछि उनीहरूको घर खानतलासी गरेर घरबाट पनि टिभी बरामद गरेका छौं, एउटाले लुकाउनलाई टिभी माटोले पुरेर राखेको पनि भेटियो, बिक्री गरेको ठाउँबाट पनि फर्काएर ल्याएका छौं ।’

उनीहरूले चोरी गरेर लगेको १५ थान टेलिभिजन सेट प्रहरीले बरामद गरेको छ । घर नजिक माटोले छोपेर लुकाइएको अवस्थामा एक थान टेलिभिजन सेट फेला परेको हो । घरमा लुकाएर राखिएको ६ थान र विराटनगर, बुढीगंगा र सुनसरीका बिभिन्न स्थानमा बिक्री गरिएको अवस्थामा ८ थान टेलिभिजन सेट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार तीन जना मिलेर चोरी गरेको खुलेको छ । चोरीमा संलग्न अर्का एक जना फरार छन्, प्रहरीले उनको खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!