- संगालोखबर सम्वाददाता
बल आफ्नो नियन्त्रणमा लिने प्रयास गर्दै खेलाडीहरु । तस्वीर : सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पेमा युवा क्लब विराटनगरले सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । धनकुटाको टुँडिखेलमा बुधबार भएको उद्घाटन खेलमा आयोजक धनकुटालाई ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुई/दुई गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेल टुंग्याइएको थियो । ट्राइबेकरमा विराटनगरका प्रवीन राई, योनिक, रिम र प्रशान्त राईले गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । धनकुटाका दिपेन शाक्य र मनोज राईले गोल गरे । विशाल भण्डारी र योगेश लिम्बू गोल गर्न चुक्दा आयोजक धनकुटा उद्घाटन खेलमै पराजित बन्न पुग्यो ।

Advertisement

खेलको ३२ औं मिनेटमा धनकुटाका जर्सी नं.९ का आकाश राईले गोल गर्दै टिमको खाता खोले । ३६ औं मिनेटमा पेमाका जर्सी नं.१३ का ओस्कारले गोल फर्काएपछि पहिलो हाफ एक/एक गोलको बराबरीमा सकियो । दोस्रो हाफको ३२ औं मिनेटमा पेमाका जर्सी नं.३ का प्रशान्त राईले गोल गर्दै टिमलाई २-१ ले अग्रता दिलाए । धनकुटाका विशाल भण्डारीले हानेको फ्री किकलाई सदुपयोग गर्दै जर्सी नं.८ का दिपेन शाक्यले गोल फर्काएर खेललाई २-२ गोलको बराबरीमा पुर्याए । निर्धारित समय बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्याद आफ दी म्याच पेमाका जर्सी नं.६ का कोमल खवास घोषित भए । उनलाई नगद ४ हजार पुरस्कार प्रदान गरिएको छ ।

बिहीबारको खेल सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् । भारतको सिलिगुडीस्थित कञ्चनजंगा फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब काठमाण्डौ, एपीएफ काठमाण्डौ र वीरगञ्ज युनाइटेड पनि प्रतियोगितामा सहभागि छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजक समिति संयोजक शम्भु प्रधानले जानकारी दिए ।

२०३० सालमा तत्कालीन राजा विरेन्द्रलाई लक्षित गरी विराटनगरमा बम हानेको अभियोगमा पक्राउ गरिएका धनकुटाका भीमनारायण श्रेष्ठलाई ०३५ सालमा मृत्युदण्ड दिइएको थियो । उनकै नाममा स्थापना गरिएको स्मृति प्रतिष्ठानले ०६३ सालबाट भीमनारायण गोल्डकप सञ्चालन गर्न थालेको हो । त्यसयता बर्सेनी गोल्डकप सञ्चालन भइरहेपनि ०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिता तीन वर्षपछि पुनः सञ्चालन गरिएको हो ।

यसैबीच, प्रतियोगिता उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!