संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भ्रष्टाचारी र घुसखोरी विरुद्ध बोल्न नदिए अमरेश कुमार सिंह जस्तै अरु सांसद पनि नाङ्गिनु पर्ने अवस्था आउँने संकेत गरेका छन् । प्रतिनिधि सभा बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले भ्रष्टाचार र घुसखोरी विरुद्ध बोल्न खोज्नेलाई अवरोध गर्न नहुने तर्क गरेका हुन् ।

Advertisement

भ्रष्टाचारीलाई जोगाउने खेल भइरहेको भन्दै उनले भ्रष्टाचार नगरी सदनमा पुगेका आफूजस्ता धेरै सांसदलाई यो कुरा चित्त नबुझेको बताए । भ्रष्टाचारको विरोध गरेर बोल्न खोज्दा स्वतन्त्र सांसद सिंहले बोल्न नपाएपछि फरक शैलीले विरोध जनाएको भन्दै उनले यसलाई सामान्य र सकारात्मक रुपमा लिइनुपर्ने तर्क गरे । ‘हामीले भ्रष्टाचार गरेका छैनौ, कसैको एक पैसा पनि नखाई आएकाले भ्रष्टाचार विरुद्ध बोल्न डर छैन,’ सांसद शर्माले भने, ‘अहिले भ्रष्टाचारको विषयलाई जसरी छल्न खोजिदैछ, यो कुरा हामीलाई चित्त बुझेको छैन, अमरेश सिंहले आट गर्नुभयो, वास्तवमा यो हामी सबैले आट गर्नुपर्ने थियो ।’

जनताको करबाट संकलित अरबौं पैसा ठूलाबडाले लुटेर छलेर खाइरहने र त्यसलाई विरोध गर्न खोज्दा बोल्न नपाउँनु गलत भएको उनले बताए । ‘स्वतन्त्र रुपमा चुनाव जितेर आएको एउटा सांसदले सदनमा बोल्न पाउँदैन भने आम जनताको अवस्था कस्तो होला ?, उनले प्रश्न गरे । शरीरमा लुगा लगाउँने तर, राम्रो काम गर्न नसकेर जनताको नजरमा निर्वस्त्र देखिनु भन्दा अर्धनग्न भएर विरोध जनाउँनु उपयुक्त भएको उनको तर्क छ ।

बेथितिका कारण मान्छेले आत्मदाह गर्नुपर्ने सम्मको अवस्था आएको भन्दै उनले मुलुकको बिग्रदो अवस्था प्रति चिन्ता व्यक्त गरे । मुलुकमा भ्रष्टाचार, घुसखोरी, मूल्यवृद्धि, ब्याजदर वृद्धि जस्ता बेथिति मौलाएको भन्दै सांसद शर्माले यसलाई सरकारले न्यूनिकरण गर्नुपर्ने धारणा राखे । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस नेता शर्मा बेथितिको विरोध गर्दै जनपक्षीय सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!