- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेपाली सेनाले धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको प्रवेशद्वार निर्माण गरेको छ । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा हिलेको पहलमा सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत प्रवेशद्वार बनाइएको हो ।

भक्तपुरबाट कालिगढ ल्याएर १० लाख खर्च गरी पुरातात्विक शैलीमा निर्माण गरिएको प्रवेशद्वार सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले रिबन काटेर प्रवेशद्वार उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पृतनापति तामाङले धार्मिक महत्व बोकेको बक्रकुण्डमा बनाइएको प्रवेशद्वारले मन्दिरको गरिमा र महत्व बढाउँन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्डलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने बताए । बक्रकुण्डमा धार्मिक पर्यटनको सम्भावना रहेको भन्दै उनले यो क्षेत्रलाई सोही अनरुप विकास गर्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने धारणा राखे ।

०७९ कात्तिकमा शिलान्यास गरिएको प्रवेशद्वार पाँच महिना लगाएर निर्माण गरिएको हो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन गोङ्बालाई प्रवेशद्वार हस्तान्तरण पत्र प्रदान गरियो । पूर्वी पृतना हेडक्वाटरका पृतनापति तामाङ, नगरप्रमुख तामाङ, नम्बर २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापा र भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोङ्बालाई पत्र हस्तान्तरण गरे ।

०६७ सालमा नागपञ्चमीको दिन ठूलाठूला नाग देखापरेपछि सोही स्थानमा मन्दिर बनाइएको हो । त्यहाँ पुजा गर्दा मनोकामना पुरा हुने जनविश्वास छ । सो मन्दिरमा हरेक वर्ष नागपञ्चमीको दिन मेला पनि लाग्ने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!