- संगालोखबर सम्वाददाता

धनकुटा । कोशी प्रदेशका नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरुले आफुहरुलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको गुनासो गरेका छन् । नेपाल बुद्धिजीवी परिषद प्रदेश समितिले धनकुटाको पाख्रीवासमा आयोजना गरेको स्थानीय तहमा न्याय सम्पादन, योजना तर्जुमा तथा अनुगमन विषयक छलफल कार्यक्रममा सहभागि पालिकाका उपप्रमुख र उपाध्यक्षहरुले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

उनीहरूले गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षको सट्टा प्रमुख र उपप्रमुख पद कायम गर्न उपयुक्त हुने धारणा राखेका छन् । नगर र गाउँपालिकामा प्रमुख वा उपप्रमुखलाई सम्बोधनमा एकरूपता गर्नुपर्ने उनीहरूको भनाई छ । पालिकाको भूमिका समान भएपनि सम्बोधन फरक गर्न नहुने उनीहरूको तर्क छ । झापाको गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंशीले आफूहरूको भूमिका तथा जिम्मेवारी गहन भएपनि त्यसको मूल्यांकन हुन नसकेको गुनासो गरिन् । ‘अनुगमन, न्याय निरुपणदेखि पालिकाका महत्वपूर्ण भूमिकामा रहेपनि उपलाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन,’ उनले भनिन्, ‘अधिकांश पालिकामा प्रमुख तथा कर्मचारी संयन्त्रबाट उपप्रमुखलाई घुमाउरो ढंगले प्रयोग गर्ने क्रम बढेको छ ।’

धनकुटाको महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले न्यायिक समितिलाई प्रभावकारी बनाउन आवश्यक कानूनी सिकाइ तथा तालिम जरुरी रहेको बताइन् । न्यायिक समितिको भूमिकाका कारण कयौं मुद्दा अदालत जान नपर्ने अवस्थामा रहेकोले न्याय निरुपणमा आवश्यक सिकाइ आफूहरूले खोजिरहेको उनको भनाई छ । यस्तै, इलामको फाकफोकथुमकी उपाध्यक्ष कल्पना राईले आर्थिक र सामाजिक विकासका लागि पालिकाको बजेट केन्द्रीय हुनु पर्नेमा जोड दिइन् ।

सुनसरीको रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले पनि क्षमता विकासका लागि तालिम र सीप जरुरी रहेको तर्क गरिन् । प्रमाण जुटाउने, न्यायिक समितिमार्फत न्याय निरुपणमा कतिपय चुनौती रहेपनि आवश्यक तालिम उपलब्ध नभएको उनले गुनासो पोखिन् । झापाको केचनकवलका उपाध्यक्ष नवराज भट्टराईले विकास निर्माण तथा बजार अनुगमनलाई प्रभावकारी ढंगले अघि बढाउन सके मतदाताको सम्मान हुने बताए ।

कार्यक्रममा बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष राधा अधिकारी, कोशी प्रदेश अध्यक्ष प्राडा अर्जुन बराल, उपाध्यक्ष उत्तमप्रसाद भट्टराई र अग्रज पत्रकार तथा कोशी प्रदेश इन्चार्ज यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । दमक नगरपालिकाका निवर्तमान उपप्रमुख गीता अधिकारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, पत्रकार रमेशचन्द्र अधिकारी लगायतले पनि प्रस्तुती राखेका थिए ।

कोशी प्रदेशका ९ जिल्लाका विभिन्न पालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरु कार्यक्रममा सहभागि थिए । केही पालिकाका प्रमुखहरु पनि सहभागि भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!