- संगालोखबर सम्वाददाता

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा वीरगञ्जमा आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले सबै जातजाति, भेषभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका हुन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको नेता पोखरेलले बताए । कहिले जातजातिका नाममा त कहिले भाषाभाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ’, कोशी प्रदेशमा जारी पहिचान पक्षधरको आन्दोलनलाई लक्षित गर्दै नेता पोखरेलले भने, ‘सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, सामाजिक एकता भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।’

राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्यको खाँचो औँल्याए ।

कार्यक्रममा शिक्षाप्रेमी अम्बिका सिंह र ममता राजकर्णिकारको स्मृतिमा स्थापित अम्बिका–ममता स्मृति पुरस्कारबाट शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएबापत पूर्वप्रअ जीवछ मिश्र, पूर्वशिक्षिका मुनाबदन राजभण्डारी, शिक्षाप्रेमी तथा समाजसेवी रामनारायण कुर्मी र उर्मिला लामालाई नगदसहित पुरस्कृत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!