- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् ।

चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्बासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । निरन्तरको दौडधुपपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउन सफल भएपछि सांसद शर्मा अहिले सुकुम्बासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । ‘यो क्षेत्रमा हजारौं परिवार सुकुम्बासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा उहाँहरूको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,’ सांसद शर्मा भन्छन्, ‘सुकुम्वासीलाई प्रकृया पुयाएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’

सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । शुक्रबार सांसद शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुम्बासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए । राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकाबाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको बारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुम्बासी र अव्यवस्थित वसोवासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउँने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुम्वासीको संख्या धेरै छ । सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । जग्गा नापजाँचमा समन्वय र सहजिकरणका लागि कानेपोखरी गाउँपालिकामा ६ नं. वडाका वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउँने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!