संगालोखबर सम्वाददाता

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

Advertisement

कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ नराख्ने बताए । अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शनमा आतङ्ककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन्दोलनको कुनै औचित्य नहुने स्पष्ट पारे ।

प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाइ मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाइ पुर्‍याउन आन्दोलनकारीलाई सुझाव दिए । ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, सबै दलले दुईतिहाइभन्दा बढी मतले पास गरेको हो,’ अध्यक्ष ओलीले भने, ‘नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं ।’

कालो झण्डा देखाउने नौ जना पक्राउ

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रूख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो ।

बैठकलाई सम्बोधन गर्न आएका ओलीलाई चोक बजारमा कालोझन्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । युवा संघका कार्यकर्ता र कोशी नाम खारेज माग गर्ने प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् ।

नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुँदै आएको छ । पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । तर, आन्दोलन अराजक बन्दै जाँदा यसको आलोचना पनि बढ्न थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!