संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउँने अभियान सुरु गरेको छ । विराटनगर–१२ स्थित सामुदायिक भवनमा कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

Advertisement

अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको महानगरको पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सामुदायिक भवनमा लगेर बन्ध्याकरण गरिनेछ ।

सालिन नेपालसँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत महानगरको बजेटबाट ६ सय र सालिन नेपालको आर्थिक सहयोगमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ । बन्ध्याकरण र रेबिजको खोप लगाएपछि कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ ।

विराटनगरमा सामुदायिक कुकुरबाट समस्या भइरहेको गुनासो आउँने गरेकाले कुकुरको संख्या बढ्न नदिन बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर नागेश कोइरालाले बताए । महानगरले कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ बेल्टसमेत बाँधिनेछ ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने भन्दै महानगरले विभिन्न अभियान सञ्चालन गरिरहेको छ । सरसफाइ, पार्किङ, कर संकलन, मासु पसल व्यवस्थापन लगायत अभियान सञ्चालन भइरहेको महानगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!