संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने मागसहित भएको आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुको शनिवार अन्त्येष्टि गरिएको छ । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका लिम्बुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

Advertisement

लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने अडानसहित उनको शव प्रतिष्ठानमै राखिएको थियो । सरकारले चैत २४ गते लिम्बुलाई सहिद घोषणा गरेपछि उनको परिवार शव बुझ्न तयार भएको हो । मृत्यु भएको २९ दिनपछि लिम्बुको शव अस्पतालबाट निकालेर बेलबारीमा लगी अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि धरान, इटहरी र विराटनगरमा शवयात्रा गरियो ।

शवयात्राका क्रममा विराटनगरमा झडप भएको छ । झडपमा छ जना सुरक्षाकर्मी र चार जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ । आन्दोलनरत पक्षले रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धाञ्जली सभा गर्ने प्रहरीलाई जानकारी दिएको थियो । तर, रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयतर्फ जान खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

शव राखिएको गाडीभन्दा अगाडिको गाडीका आएका लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालयतर्फ अगाडि जान खोजेपछि झडप भएको थियो ।

आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गर्यो । ब्यारिगेट तोडफोड गर्दै भीडले ढुंगामुढा गरेपछि प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रहरीका अनुसार आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको छ । रोडशेष क्षेत्र तनावपूर्ण बनेपछि महेन्द्र चोकमा श्रद्धाञ्जली सभा गरेर अन्त्येष्टिका लागि शव बेलबारी लगिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!