संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण  कसैको विपक्षमा नभएको बताएका छन् । शुक्रबार नेपाल बार एशोसिएसन उच्च अदालत विराटनगर बार इकाईको १३ औं वार्षिक साधारण सभा तथा बार भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

कोशी नाम सबैको साझा भएकाले यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने उनले बताए । ‘नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला, त्यो नभएर साझा नामकरण भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जानुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने । संवैधानिक एवं कानूनी प्रकृयाबाट नामकरण भएकाले यसमा विरोधको अर्थ नहुने उनको तर्क छ । नाम परिवर्तन गर्ने गरी फरक नामको पक्षमा उभिने दुई तिहाइ सांसद जनताले निर्वाचित गरेर पठाएमा आगामी कार्यकालमा नाम परिवर्तन गर्ने संवैधानिक एवं कानूनी प्रक्रिया खुल्ला रहेको उनले स्पष्ट पारे ।

प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि उनले प्रस्ट परे । प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण हुन नसक्दा सर्वत्र आलोचना खेप्नु परेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले दोस्रो कार्यकालको प्रारम्भमै प्रदेशले नाम पाउनु सकारात्मक भएको बताए । प्रदेश नामकरणको काम पुरा भएकाले अब प्रदेशको विकास र प्रदेशवासीको समृद्धिको विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै उनले प्रदेश सरकार बनेपछि जनताले विकासको अनुभूति गरेको दावी गरे । विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर सडक कालोपत्रे, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको उनले जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका कमी कमजोरीको आलोचनालाई ग्रहण गरी आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कामको प्रशंसा गर्न पनि आग्रह गरे ।

फरक प्रसङ्गमा उनले नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको बताए । विगत १६/१७ महिनादेखि प्रधान न्यायाधीश नियुक्ति हुन नसक्नु दुखद भएको उनको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!