संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र बैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न नपाइने भएको छ । महानगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको हो ।

Advertisement

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको गुनासो छ । कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्र महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी काम भइरहेको सुनाए । ‘विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो,’ मेयर कोइरालाले भने, ‘महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछामासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि विराटनगरवासीबाट साथ र सहयोग अवश्य प्राप्त हुनेछ ।’

महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङलगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरि सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न निषेध गरिएको बताए । विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरिएको छ । ‘अबदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न पाइने छैन,’ कोइरालाले भने, ‘ऐनले नै अव्यवस्थित र खुल्ला रुपमा पशुपक्षीको बध गर्न र बिक्रीवितरण गर्न निषेध गरेको छ ।’

पशुपक्षी शाखाका प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपक्षी बध गरेको पाइएमा कडा कारबाही गरिने यादवले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!