- संगालोखबर सम्वाददाता

खोटाङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक वर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरूलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न बिरामीलाई निःशुल्क र विपन्न बिरामीलाई विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् ।

यो विषयमा केएमसी र केपिलासगढी गाउँपालिकाबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रबन्धक नारायण दाहाल तथा केपीलासगढी गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् । केपिलासगढीका अति विपन्न बिरामीलाई केएमसीमा १०० प्रतिशत सम्म छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यस्तै, गाउँपालिकाले सिफारिस गरेर पठाएका विपन्न बिरामीले पनि सहुलियत दरमा उपचार पाउँनेछन्

ओपीडीमा आएका विपन्न बिरामीले २५ प्रतिशत छुट पाउँनेछन् । भर्ना भई उपचार गराउँनु पर्ने अवस्थाका बिरामीलाई केएमसीले ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार एमआरआई, सीटीस्क्यान, शल्यक्रिया लगायत सबै किसिमको उपचारमा बिरामीले छुट पाउँनेछन् । न्यून आय भएका र उपचार गराउँन नसकिरहेका विपन्न बिरामीलाई उपचारमा सहजता प्रदान गर्न छुटको व्यवस्था गरिएको डा.शर्माले बताए । ‘खोटाङको दुर्गम क्षेत्र केपिलासगढीका विरामीहरुलाई उपचारमा सहयोग गर्न आगामी एक वर्ष सम्मका लागि सम्झौता गरिएको छ, त्यसपछि पनि सम्झौता थप हुन सक्छ,’ डा.शर्माले भने ।

यसैबीच, केपिलासगढी गाउँपालिका र केएमसीको सहकार्यमा गाउँपालिकाको केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सोमबार केपिलासगढीका १ हजार ३ सय ५६ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, १४२ जनाको रक्त परीक्षण र ८९ जनाको इसीजी गरिएको छ । केपिलासगढीको शिविर सकिएपछि बुधबार रावावेसीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केएमसीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!