विराटनगर । आजबाट विक्रम सम्वत् २०८० साल सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षको पहिलो दिन हर्षोउल्लासपूर्वक मनाउँदैछन् ।
एकापसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मिष्ठान्न भोजन गरी विशेष दिनका रुपमा नयाँ वर्ष मनाउँने चलन छ । नयाँ वर्षको अवसरमा अधिकांश व्यक्तिले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ बर्षको शुभकामना दिएका छन् ।
नयाँ वर्षको पहिलो दिन सार्वजनिक विदा दिने चलन छ । सोही अनुरूप आज सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको पहिलो दिन राम्रो भएमा वर्षभर सोही अनरुप सफलता मिल्ने जनविश्वास छ ।