- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । तत्कालीन राजारानी गाउँ विकास समितिका अध्यक्ष अगमबहादुर थापा सम्मानित भएका छन् । चौविसे–६ राजारानी घर भएका थापालाई दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले आज धनकुटामा सम्मान गरेको हो ।

Advertisement

स्व.दुर्गा दाहालको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, कोष व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार लामिछाने र संरक्षक मञ्जु दाहालले थापालाई दोसल्ला ओढाएर सम्मानपत्र र १० हजार १ सय नगद प्रदान गरी सम्मानित गरे ।

वि.सं.२००४ सालमा राजारानीमा जन्मिएका थापाले चौबिसे क्षेत्रको शैक्षिक विकास र उन्नयनका लागि योगदान पुर्‍याएको र तत्कालीन गाविस अध्यक्ष भई कुशल अभिभावकीय भूमिका निर्वाह गरेकाले सम्मान गरिएको कोषले जनाएको छ ।

चौबिसे गाउँपालिका–३ अँधेरी स्थायी घर भई धनकुटा–७ जिरोप्वाइन्ट बस्दै आएका दाहालको २०६९ चैत्र २३ गते निधन भएको थियो । उनको निधन पश्चात छोराहरू गणेश र केदार दाहालले २०७० सालमा स्मृति कोष स्थापना गरेका हुन् ।

सो कोषबाट द्वन्द्वपीडित, अनाथ विद्यार्थी, शिक्षा क्षेत्रका अगुवा, इतिहासकार लगायतलाई सम्मान गर्ने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!