- संगालोखबर सम्वाददाता

धनकुटा । आगामी बैशाख १ गतेदेखि धनकुटामा प्रथम कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन बैशाख १ देखि ३ गतेसम्म बिहिबारे हटियामा फेस्टिभल अर्थात महोत्सव गर्न लागिएको हो ।

Advertisement

सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक स्थानीय संस्थाले फेस्टिभल गर्न लागेको हो । सो संस्थाले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी भइरहेको जानकारी दिएको छ । पहिले कोप्चे क्षेत्र धनकुटाको मुख्य बजारका रुपमा स्थापित थियो । पहिलेको तुलनामा अन्य क्षेत्रमा चहलपहल बढ्दै गएपनि कोप्चे क्षेत्रमा चहलपहल बढ्नुको सट्टा उल्टै घट्दै गएको स्थानीयवासी बताउँछन् । नेवार र आठपहरियाको बाहुल्यता रहेको कोप्चेमा स्थानीयले ‘कोप्चे पुनर्जागरण अभियान’ पनि चलाइरहेका छन् ।

अभियान अन्तर्गत कोप्चे क्षेत्रको मौलिक नेवारी र आठपहरिया कला, संस्कृति, भेषभुषा, रहनसहन तथा खानाको संरक्षण र प्रवर्द्धनका लागि फेस्टिभल गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले बताए । उनका अनुसार फेस्टिभलमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवारका स्टलहरू राखिनेछ । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरू खेलाइनेछ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि देखाइनेछ । कोप्चे क्षेत्रको संस्कृति संरक्षण र पर्यटन विकासका विषयमा अन्तरक्रिया गर्ने तयारी छ । फेस्टिभललाई लक्षित गर्दै कोप्चे क्षेत्रको सौन्दर्यकरण गरिदैछ ।

स्थानीय रिदम श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र बिभिन्न उपसमितिहरू निर्माण गरेर फेस्टिभलको तयारी भइरहेको छ । तीन दिनसम्म चल्ने फेस्टिभल करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको फेस्टिभल मूल आयोजक समितिका संयोजक श्रेष्ठले बताए । फेस्टिभलले कोप्चे क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न र त्यहाँका जनताको आर्थिक, सामाजिक विकास गरी जीवनस्तर उकास्न सघाउ पुग्ने आयोजकको अनुमान छ ।

कोप्चेलाई पुनर्जागरण गर्दै सो क्षेत्रमा पर्यटक आकर्षण गर्न केही वर्ष अघिदेखि त्यहाँका हरेक घरमा एकै किसिमको पहेलो रंग लगाइएको छ । कोप्चेलाई ‘ओरेन्ज सिटी’ पनि भन्ने गरिन्छ । सुन्तलाका कारण धनकुटाको खोकु प्रसिद्ध छ । त्यहाँ उत्पादित सुन्तला दक्षिण एसियाकै सबैभन्दा रसिलो र गुलियो हुने दावी गरिन्छ । सोही सुन्तलाको प्रवद्र्धन गर्दै पर्यटक आकर्षण गर्न सुन्तलाको जस्तो पहेलो रंगले कोप्चेका सबै घर रंग्याइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!