संगालोखबर सम्वाददाता

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा सोमबार राति भएको खेलमा आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

Advertisement

साविक विजेता आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पनि पुलिसलाई पराजित गरेको थियो । लिग चरणमा सहजै जित निकालेको आर्मीलाई फाइनलमा जित निकाल्न निकै संघर्ष गर्नु पर्यो । खेलको ४१ औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच आर्मीका नितिज न्यौपाने घोषित भए ।

उपाधिसँगै आर्मीले ७५ हजार नगद पुरस्कार पाएको छ भने उपविजेता नेपाल पुलिसले ४१ हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो भएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ ।

खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की संघका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की संघ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए । आगामी वर्षको नीति कार्यक्रम एवं बजेटमा यस प्रतियोगितालाई समावेश गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न सहयोग गर्छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गराउन र अन्य प्राविधिक कुरामा सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!