- संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न भारत तयार रहेकाले सहकार्य गरेर विद्युत उत्पादन बढाउँन प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले जलविद्युत उत्पादन बढाएर नेपाललाई समृद्ध बनाउँन सकिने आधार भएकाले भारतीयहरुसँग सहकार्य गरेर भएपनि विद्युत उत्पादन बढाउँन सुझाव दिएका हुन् ।

Advertisement

केही दिन अघि भारत गएका सांसद शर्माले त्यहाँका विशिष्ट व्यक्तिहरूसँग भेट गरेका थिए । भेटको कुराकानी उल्लेख गर्दै सांसद शर्माले भारतका उद्योगी, व्यवसायीहरू नेपालमा जलविद्युत उत्पादनका लागि लगानी गर्न तयार रहेको बताए । जलस्रोतको धनी देश नेपालले जलविद्युत उत्पादन बढाएर विद्युतको ठूलो बजार भारत र बङ्गलादेशलाई बेची केही वर्षभित्रै समृद्ध बन्न सक्ने उनको तर्क छ ।

तर, अन्य देशसँग मिलेर विद्युत उत्पादन गर्ने र भारतले किन्नुपर्ने विषय प्रति भारतीयहरू सन्तुष्ट नरहेको पाएको सांसद शर्माले सुनाए । ‘उत्पादन तपाईँहरूले विश्वका अरु कम्पनीहरूलाई दिने अनि उत्पादन पश्चात हामीले किनिदिनुपर्ने ? यो अलि वैज्ञानिक भएन भन्ने कुरा उहाँहरूको छ,’ भारतीय उद्योगी व्यवसायीसँगको छलफलको कुरा सुनाउँदै सांसद शर्माले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै यो विषयमा एउटा राजनीतिक संयन्त्र तयार गरेर घनिभूत रुपमा छलफल गर्ने हो भने जलविद्युतको विकासका लागि भारतीय व्यवसायीहरू, बङ्गलादेशका व्यवसायीहरूसँग त्रिपक्षीय सम्झौता गर्न सम्भव छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणको मितिलाई केही पछाडि धकेलेर भएपनि राजनीतिक संयन्त्र निर्माण गरी भ्रमणमा जादा जलविद्युतमा लगानीको वातावरण निर्माण गर्न प्रधानमन्त्री दाहाललाई सांसद शर्माले आग्रह गरे । हाइड्रोपावरको क्षेत्रमा लागेका नेपाली उद्योगी व्यापारी र लगानी गर्न तयार भारतीय उद्योगी व्यवसायीहरूको बिचमा समन्वयको वातावरण मिलाई चाडै ठूलाठूला जलविद्युत आयोजनाहरू सञ्चालन गरी भारत र बङ्गलादेशमा बेचेर समृद्धिको यात्रा तय गर्न सरकारलाई उनको सुझाव छ ।

बर्खाको सिजनमा भारतसँग अधिकतम ४५२ मेगावाटको मात्र कारोबार भइरहेको भन्दै उनले सम्भव देखिएका २३ वटा प्रोजेक्ट मात्र सञ्चालन गर्न सक्ने हो भने पनि सन् २०३० सम्ममा ३० हजार मेगावाट विद्युत उत्पादन गरेर बेच्न सकिने उनको आकलन छ । यसो गर्न सकेमा नेपाल समृद्ध बन्ने उनको तर्क छ । अब, भारतलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने भन्दै उनले भारतसँग धार्मिक र साँस्कृतिक कुटनीतिबाट नयाँ ढंगले सम्बन्ध अगाडी बनाउँन उपयुक्त हुने धारणा राखेका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!