रबिन कटेल/संगालोखबर

विराटनगर । मोरङमा अर्कैको नामबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने क्रममा तीन परीक्षा केन्द्रबाट २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बिहीबार एकैदिन १ सय ९९ जना र बुधबार दुई जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

केरावारीको सार्वजनिक मावि, ग्रामथानको सरस्वती मावि र सुन्दरहरैंचाको जनता मावि परीक्षा केन्द्रबाट अर्कै व्यक्तिको परीक्षा लेख्दै गर्दा नक्कली परीक्षार्थीहरू पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार एउटै परीक्षा केन्द्रबाट १ सय २७ जनासम्म नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ‘परीक्षार्थीलाई परीक्षा केन्द्रमा छिर्ने क्रममा गरिने स्क्रीनिङमै कमजोरी भएको हो जस्तो देखिन्छ,’ डीएसपी दाहाल भन्छन्, ‘पक्राउ पर्छु भन्ने डर भएको भए त यत्ति धेरै विद्यार्थीले अर्काको परीक्षा दिने आँट नगर्नु पर्ने हो, यसले परीक्षा प्रणालीमै कडाइ गर्नुपर्ने देखिन्छ ।’

केराबारीको सार्वजनिक मावि परीक्षा केन्द्रबाट मात्रै १ सय २७ जना परीक्षार्थी पक्राउ परेका हुन् । २ सय ९८ जना विद्यार्थीले परीक्षा दिदै गरेको सो केन्द्रमा झण्डै आधा परीक्षार्थी नक्कली भेटिए । यता, ग्रामथानको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । त्यहाँ २ सय ९२ जना परीक्षार्थी थिए । त्यस्तै, ३ सय ११ जना परीक्षार्थी रहेको सुन्दरहैचाको जनता माबी परीक्षा केन्द्रमा पनि २० जना नक्कली परीक्षार्थी भेटिएका छन् ।

ग्रामथानको सरस्वती माविमा बुधबार खुल्लातर्फ विज्ञान विषयको परीक्षा दिने क्रममा धरान उप–महानगरपालिका–५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ परेकी थिइन् । कल्पना लिम्बूको परीक्षा दिदै गर्दा सुस्मिता पक्राउ परेपछि थप खोजबिन गर्ने क्रममा अरु पनि परीक्षार्थी नक्कली भेटिएका हुन् ।

धेरैले प्रवेश पत्रमा फोटो फेरेर अर्काको परीक्षा दिन बसेका थिए । शंका लागेर सोधपुछ गर्दा प्रवेश पत्रमा लेखिएको जन्ममिति पनि भन्न नसकेपछि उनीहरु फन्दामा परेका हुन् । पक्राउ परेका परीक्षार्थीहरूलाई अहिले बेलबारी प्रहरी चौकीमा लगिएको छ । तर, त्यहाँ नअट्ने भएकाले अन्य प्रहरी युनिटहरूमा पनि राखिने प्रहरी प्रवक्ता दाहाल बताउँछन् । पक्राउ परेकाहरूलाई प्रहरीले शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाउँने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!