- संगालोखबर सम्वाददाता

विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका हुन् ।

रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा विक पीडा सहेर घरमै बसिरहेकी थिइन् । उनी सुकुना खोला बगरको ऐलानी जग्गामा बनाइएको टाटीको झुपडीमा एक्लै बस्दै आएकी छन् । प्रेसरले हानेर गतवर्ष बाटुलीका श्रीमानको मृत्यु भयो, छोराछोरी पनि छैनन् । सहारा दिने कोही नभएको र आर्थिक अवस्था कमजोर भएका कारण विकले उपचार गर्न नसकेको थाहा पाएपछि डा.शर्माले अस्पतालमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

करिब एक साता अस्पतालमा राखेर उपचार गराएपछि विकको स्वास्थ्यमा सुधार आएको छ । पैसा नभएर उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले निःशुल्क उपचार गराइदिएपछि विक हर्षित छिन् । ‘उपचार गर्ने पैसा नहुँदा दुखाई पीडा सहेर भएपनि घरमै बसिरहेकी थिए । यसरी सित्तैमा उपचार पाउँछु भन्ने सोचेको पनि थिइन,’ विकले भनिन्, ‘सुनिल सरले धेरैलाई सहयोग गर्नुभएको सुनेकी थिए, समस्यामा परेका बेला अहिले आफैले यत्रो सहयोग पाए ।’

समाजसेवी व्यक्तिको पहिचान बनाइसकेका डा.शर्माले बाटुली जस्ता सयौँ बिरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । उनले आफ्नो चुनावी बाचा अनुसार चुनाव जितेको भोलिपल्टैबाट मोरङ–३ का जनताको उपचारका लागि नोबेलमा ५० शैयाको क्याबिन निःशुल्क उपलब्ध गराइरहेका छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका डा.शर्मा २२ हजार ७३६ मतान्तरसहित ४८ हजार ६३१ मत ल्याएर निर्वाचित भएका हुन् । चुनाव जितेमा सांसदले पाउने तलब भत्ता नलिने अग्रिम घोषणा गरेका डा.शर्माले सोही बमोजिम सरकारी तलब भत्ता पनि लिएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!