- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका व्यापारीहरूले आज बजार पसल बन्द गरेर ‘नो पार्किङ’ अभियानको विरोध गरेका छन् । विराटनगर महानगरले सुरु गरेको ‘नो पार्किङ’ अभियानको विरोध गर्दै व्यापारीहरूले विराटनगर बजार बन्द गरेका हुन् ।

Advertisement

महानगरले बजारलाई व्यवस्थित गर्न मुख्य सडक क्षेत्रमा पार्किङ निषेध गर्दै लगेको छ । बिभिन्न स्थानमा पार्किङ क्षेत्र छुट्याएर सडकलाई पार्किङ निषेध गरिएको हो । तर, सडक क्षेत्रमा पार्किङ निषेध गर्दा बजारको व्यापार घटेर व्यवसाय सङ्कटमा पर्ने अवस्था देखिएको भन्दै व्यापारीहरू आन्दोलित छन् । ग्राहकले सडक छेउमा सवारी पार्किङ गर्न नपाउँदा बजारमा व्यापार घटेको उनीहरूको तर्क छ ।

सडकको एकापटी पार्किङ गर्न दिइनुपर्ने व्यापारीहरूको माग छ । उनीहरूले पार्किङ निषेध गरिएको क्षेत्रमा आफै मोटरसाइकल राखेर विरोध जनाउँदै आएका थिए । पार्किङ निषेध अभियानलाई कडाइ गर्ने तयारी गरेको महानगरले आज मुख्यबजार क्षेत्रको पार्किङ निषेधित क्षेत्रमा राखिएका मोटरसाइकलहरूमा ह्विल लक लगाएपछि व्यापारीहरू थप आक्रोशित भए ।

सोही समयमा महानगरको टोली बजार पसलको अनुगमन गर्दै निस्किएको थियो । अनुगमनबाट जोगिन व्यापारीहरूले पसल बन्द गरेको र सोही मौकामा नो पार्किङको विरोध जनाएको एकथरिको आरोप पनि छ । दिउँसो करिब १ बजेदेखि व्यापारीहरूले बजार बन्द गरेर पार्किङ निषेध अभियानप्रति विरोध जनाउँदै महानगरविरुद्ध सडकमा विरोध प्रदर्शन गरे ।

उनीहरूले मेयर नागेश कोइरालाविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरले ‘नो पार्किङ’ अभियान थालेपछि यसको विरोध र समर्थन दुवै हुँदै आएको छ । विरोधमा व्यापारीहरू सडकमै उत्रिने अवस्था सृजना हुँदा सामाजिक सञ्जालमा ‘नो पार्किङ’ अभियानको समर्थन पनि भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!