- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । धनकुटाको चौबिसे घर भई काठमाडौंमा बसोवास गर्दै आएकाहरूको संस्था चौबिसे समाज धनकुटाले आज साँझ काठमाडौंमा साङ्गीतिक कार्यक्रम गरेको छ । क्यान्सर पीडित र मृगौला पीडित असहाय बिरामीहरूको उपचार सहयोगार्थ ‘तुलसी पराजुली साङ्गीतिक साँझ’ गरिएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा धनकुटेली गायक पराजुलीले करिब डेढ दर्जन गीत गाएर साङ्गीतिक मनोरञ्जन प्रदान गरे । कार्यक्रममा सहभागीहरू पराजुलीको गीतमा झुमेका थिए । उनीहरूले गीतसँगै नाचेर मनोरञ्जन लिए ।

कार्यक्रममा गायिका प्रविशा अधिकारी, खुशी थुलुङ र दिपा सुहाङले पनि गीत गाएर माहोल तताए । हास्य कलाकार राजा राजेन्द्र पोख्रेलको प्रस्तुतिमा दर्शकहरूले थप मनोरञ्जन लिए ।

असहाय बिरामीहरूको उपचारका लागि चौबिसे समाजले उपचार कोष निर्माण गर्ने योजना बनाएको छ । सो कोषमार्फत विशेष गरी धनकुटाका बिरामीहरूको उपचारमा सहयोग गरिने चौबिसे समाजका अध्यक्ष दुर्गा मादी देवानले जानकारी दिए ।

यसैबीच, धनकुटा पुर्खौली घर भएका बरिष्ठ चिकित्सक एवं गीतकार डा.भोला रिजालले चौबिसेका बिरामीहरूलाई विशेष छुटमा उपचार गर्ने घोषणा पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!