- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद रङ्गशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई जनही एक/एक लाखसहित सम्मान गरेको हो ।

Advertisement

हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर) मा पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । उत्कृष्ट खेल प्रस्तुत गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएको भन्दै महानगरले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित उनलाई सम्मान गरेको हो ।

त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा पु¥याउन सफल भएका थिए । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका छन् ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलकुदले देशको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताए । त्यस्तै मेयर कोइरालाले खेलकुदमार्फत विराटनगरको प्रतिष्ठालाई माथि उकास्न योगदान गरेका कारण महानगरले नगदसहित राजवंशी र कँडेललाई सम्मान गरेको जानकारी गराए । उनले विश्वका जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यमबाट परास्त गर्न सकिने धारणा राखे । ‘नेपालभन्दा युएई निकै धनी र शक्तिशाली छ तर नेपालले उसलाई जित्न सफल भएको छ,’ मेयर कोइरालाले भने, ‘उहाँहरूलाई हौसला होस् भनेर महानगरले सम्मान गरेको हो ।’

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायतले पनि खेलाडीहरूलाई उज्वल भविष्यको शुभकामना दिएका छन् । शहीद रङ्गशालामा विश्वका महान् फुटबल खेलाडी पेलेको अर्धकदको सालिक निर्माण गरिदिने अभिषेक तिम्सिनालाई पनि सोही अवसरमा सम्मान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!