- संगालोखबर सम्वाददाता

विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटीले विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले सातौँ संस्करणको उपाधि जितेको हो ।

Advertisement

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । ६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै उपाधि जितेको हो । विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपविजेता केरलाले १० लाख  १५ हजारमा चित्त बुझाएको छ । जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर,  मेसुके र अभिषेक गुरुङले गोल गरेका छन् ।

खेलको सातौँ मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको खाता खोलेका थिए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा  मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका हुन् ।

विराटनगर सिटीका सुरज बिक फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कारमा पनि विराटनगर सिटीको बर्चस्व रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भयो । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । वेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । उनीहरुले जनही २५/२५ हजार रुपैयाँ पाएका छन् ।

विजेता टिम तथा खेलाडीलाई एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, विराट गोल्डकप आयोजक समितिका संयोजक एवं विराटनगर महागनरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ लगायतले पुरस्कार बितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!