विराटनगर । घरेलु टिम विराटनगर सिटी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।
विराटनगरको जितका लागि स्टेफन ब्याङगनल र अभिषेक गुरूङले समान एक/एक गोल गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए । विराटनगरले सङ्घर्षपूर्ण जित हासिल गर्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो ।
फिनिसिङ पक्ष कमजोर रहँदा जावलाखेलका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाले । दोस्रो हाफपछि विराटनगरले अग्रता लिदा जावलाखेल दबाबमा परेको थियो ।
५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । विमल घर्ती मगरले पेनाल्टी एरियाबाट प्रहार गरेको बललाई जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर फालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई वैकल्पिक खेलाडी अभिषेक गुरुङले गोलमा परिणत गर्दै टिमलाई जित दिलाए । ६१ औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काएका थिए ।
खेलको म्यान अफ दी म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाएका छन् । मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफ भिड्दैछन् ।