- संगालोखबर सम्बाददाता

धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । धनकुटा–६ स्थित बहुउद्देश्यीय सामुदायिक भवनमा शनिवार भएको फाइनल खेलमा पुरुष एकलतर्फ सुनसरीका सुब्बा र महिला एकलतर्फ मोरङकी लम्सालले उपाधि जितेका हुन् ।

झापाका प्रनिश सिंह ठकुरीलाई फाइनल सेटमा हराउँदै सत्यमले उपाधि जिते । पहिलो सेटमा १९–२१ ले पराजित भएपनि दोस्रो सेट २१–१७ र फाइनल सेट २१–८ ले प्रनिशलाई पराजित गर्दै सत्यमले उपाधि जितेका हुन् । उपाधिसँगै सत्यमले २० हजार नगदसहित मेडल र ट्रफी पाए भने उपविजेता प्रनिशले नगद १२ हजारमा चित्त बुझाए । पुरुष एकलतर्फ भोजपुरका विशाल तामाङ र झापाका नविन सिलवाल तृतीय भए । उनीहरूले नगद ८ हजार पाएका छन् ।

त्यस्तै महिला एकलतर्फ उदयपुरकी रोजी राईलाई २१–५, २१–१४ ले पराजित गर्दै निताले उपाधि जितेकी हुन् । उपाधिसँगै निताले नगद २० हजार, ट्रफी र मेडल पाएकी छन् । उपविजेता रोजीले नगद १२ हजारसहित ट्रफी र मेडल हात पारेकी छन् । महिला एकलतर्फ धनकुटाका अरुणा तामाङ र झापाका अन्जना राई तेस्रो भए । उनीहरूले ८ हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा सुनसरीका सत्यम सुब्बा र सुमन लिम्बूको जोडीले पुरुष युगलतर्फको उपाधि जितेका छन् । संखुवासभाका सृजल पोखरेल र प्रवीन लिङ्थेपको जोडीलाई २१–१०, २१–१७ ले हराएर सत्यम र सुमनको जोडीले उपाधि जित्दै नगद ३० हजार पाए । उपविजेता पोखरेल र लिङ्थेपले नगद २० हजार पाएका छन् । तृतिय स्थान हासिल गरेका झापाका प्रनिश सिंह ठकुरी र नवीन सिलवाल, लाक्पा शेर्पा र महेश खड्काको जोडीले १० हजार पाएका छन् ।

मिक्स युगलतर्फ सुनिल सिलवाल र अन्जना राईको जोडीलाई २१–१९, १९–२१ र २१–१६ ले पराजित गर्दै प्रनिशसिंह ठकुरी र अनिता गिरीको जोडीले उपाधि जिते । विजेता जोडीले नगद २० हजार पाए भने उपविजेता जोडीले नगद १२ हजारमा चित्त बुझाए । विनय चौधरी र रोजी राईको जोडी, सत्यम सुब्बा र जोगिता लिम्बूको जोडी तृतीय बन्दै नगद ४/४ हजार पाए ।

मास्टर ५५ प्लस युगलतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठ बिजयी भए । कास्कीका दिलबहादुर कन्दङ्वा र भोजपुरका दानबहादुर तामाङको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै चौधरी र श्रेष्ठ बिजयी भएका हुन् । विजेताले २५ हजार र उपविजेताले १५ हजार पाए । इटहरीका देव तामाङ र शान्ता तामाङको जोडी, कास्कीका रमेश भट्टचन र उदयपुरका दीपक राईको जोडी तृतीय हुँदै ५/५ हजार पुरस्कार पाए ।

मास्टर ४५ प्लस युगलतर्फ धरानका लोकमान श्रेष्ठ र काठमाडौंका सञ्जय कपालीको जोडीले ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र आङ्वुहाङको जोडीलाई २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधि जिते । विजेता जोडीले नगद २५ हजार र उपविजेता जोडीले नगद १५ हजार पाए । तृतिय बनेका पाँचथरका दिप आङ्देम्वे र इटहरीका श्याम लामाको जोडी, ललितपुरका पूर्णभक्त चित्रकार र मोरङका डिल्लीराम डाँगीको जोडीले नगद ५/५ हजार हात पारे ।

बिजयी खेलाडीहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायतले पुरस्कृत गरेका छन् । धनकुटा नगरपालिकाको मुख्य प्रायोजनमा जिल्ला ब्याडमिन्टन संघले चार दिने प्रतियोगिता आयोजना गरेको हो । ६ विधामा भएको प्रतियोगितामा उपाधिका लागि प्रदेशभरका ८२ टिमबीच प्रतिष्प्रधा भएको आयोजकले जनाएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!