- संगालोखबर सम्बाददाता

विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार राती भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै विराटनगर सिटी सेमिफाइनल पुगेको हो ।

Advertisement

जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म खेल गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा आशिषले गोल गरेका हुन् । दिवाकर चौधरीले निकालेको पासलाई सदुपयोग गर्दै खेलको १ सय १७ औं मिनेटमा आशिषले निर्णायक गोल गर्दै टिमलाई अन्तिम चारमा स्थान पक्का गराउँन सफल भएका हुन् ।

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म पुलिसका लागि निकै सङ्घर्षपूर्ण बन्यो । पुलिसले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । ०७४ सालको विराट गोल्डकप उपाधि विजेता पुलिस क्लब दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगिताको म्यान अफ द म्याच घोषित हुँदै विराटनगरका उत्सव राईले नगद २५ हजार  पुरस्कार पाएका छन् । शुक्रबार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ टिम उपाधिका लागि भिड्दैछन् । प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

कस्तो रह्यो खेल ?

खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहारलाई विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औं मिनेटमा पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्कियो । २४ औैं मिनेटमा विराटनगरका अभिषेक गुरुङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए ।

२८ मिनेटमा पुलिसका ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरयो । ४१ औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा गोल हुनबाट चुक्यो । दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरु बनाउन सफल रहयो । ५५ औं मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३ औ मिनेटमा पुलिसमा भरत साहले पेलान्टी एरियाबाट गरेको प्रहार गोल हुन चुक्यो । ८४ औं मिनेटमा विराटनगरका युता सुजिकीले ३० यार्डदेखि गरेको प्रहार पोसमाथिबाट बाहिरियो । ८८ औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त  प्रहार बाहिरयो । ९० औं मिनेटमा विराटनगरका सन्देश बिकले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुके ।

सय मिनेटमा विराटनगरका अविशेष गुरुङले ३० यार्डदेखीको प्रहार फितलो भएको थियो । १०५ मिनेटमा पुलिसका भरत साहले वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । लगतै पुलिका रविशंकरले  डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन् । ११३ औं मिनेटमा विराटनगरका अभिशेष गुरुङले निकालेको पास पेलान्टी एरियाबाट दिवसकर चौधरीले गरेको हेडिङ्ग पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले बिफल पारिदिए ।

प्रदेश सरकारले खेलकुदलाई प्राथमिकता दिन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रतियोगिता उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताए । उनले खेलकुदको विकासलाई प्रदेश सरकारले उच्च प्राथामिकता दिएको उल्लेख गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!