- संगालोखबर सम्बाददाता

धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।

Advertisement

पुनः खेलमा नफर्कन खेलाडीले सन्यास लिने गर्छन् । नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास घोषणा गरेकाले सुजल पुनः सो टोलीमा फर्किने छैनन् । धनकुटाको हुलाकटोल घर भएका श्रेष्ठ बिहीबार मध्यराति १२ बजे अस्ट्रेलिया उड्दैछन् । अस्ट्रेलिया जानुअघि सन्यास घोषणा गर्दै सुजलले ११ वर्ष आफ्नो देशको झन्डा बोकेर मैदानमा उत्रिँदा गर्विलो महसुस गरेको उल्लेख गरेका छन् ।

‘११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुशीका पल त केही दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोली बाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलले लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान छन् । र म विश्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो ।’

सन्यास लिने क्रममा सुजलले समर्थकहरू प्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो । जय नेपाली फुटबल,’ सुजलले लेखेका छन् ।

सन् २०११ मा भुटानविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका सुजल पछिल्लो समय ए डिभिजन क्लब मछिन्द्रको कप्तानको भूमिकामा थिए । उनले पछिल्लो समय मछिन्द्रबाट केपी ओली कप, भद्रपुर गोल्डकप खेलेर उपाधि जिताउन सफल भएका थिए । सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली  खेलकुद (साग) मा स्वर्ण जितेको थियो ।

पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया गएका छन् । त्यहाँको स्थानीय टिमबाट खेल्न राष्ट्रिय टिम छाडेर खेलाडीहरू जाने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!