- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा सोमबार एकैदिन तीन घरमा आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने करिब २५ लाख बराबरको क्षति भएको छ ।

Advertisement

धनकुटा नगरपालिकाका दुई र साँगुरीगढी गाउँपालिकाको एक घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चोकचिरानमा घरमा आगलागी हुँदा जलेर ६९ वर्षीया वृद्धा जीवन सार्कीको मृत्यु भएको हो । सोमबार बिहान करिब ४ बजे घटना भएको हो । वृद्धा सार्कीका श्रीमानको पहिलेनै मृत्यु भइसकेको थियो, छोराबुहारी धरानमा बस्दै आएका छन् । उनी घरमा एक्लै भएका बेला घटना भएको हो ।

टिनको छानो र बासको बेरा भएको घरमा आगो लाग्दा वृद्धा जलेकी हुन् । उनको शरीरको अधिकांश भाग आगोले जलेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

त्यस्तै, धनकुटा नगरपालिका–१ घिमिरे गाउँका भीमबहादुर बस्नेतको घरमा पनि आगो लागेको छ । घरमा कोही नभएका बेला विद्युत सर्ट भएर बिहान करिब ७ बजे बस्नेतको एक तले पक्की घरमा आगो लागेको प्रहरीले जनाएको छ । आगोले घरसहित घरभित्र रहेको लत्ताकपडा, अन्न, भाडाबर्तन लगायत सबै सामान जल्दा करिब १२ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

त्यस्तैगरी, धनकुटा नगरपालिका–३ लाकुरेका ससीकुमार राईको घरमा पनि आगलागी भएको छ । ढुंगा माटोले बनेको दुई तले घरमा बिहान करिब ११ः३० बजे आगो लागेको हो । आगलागीबाट घरसहित घरमा भएका सामान पनि जलेका छन् । सोही घरमा रहेको किराना पसल पनि जलेको छ ।

आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!