- संगालोखबर सम्बाददाता

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोशी प्रदेश नामकरण खारेज गरेर पहिचानसहितको नाम राख्न माग गर्दै पहिचानवादी सङ्घसंस्थाहरूको अगुवाइमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा अघि बढ्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रशासनले निषेधित क्षेत्र तोकेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालयतर्फ प्रदर्शनकारी अघि बढ्ने क्रममा झडप भएको हो । झडपमा दुई जना प्रहरी घाइते भएका छन्, चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । भीड तितरबितर पार्न प्रहरीले ४ राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीलाई रोक्दै प्रहरी । तस्वीर: प्रेम देवान

झडपपछि मुख्यमन्त्री कार्यालय नजिक कोणसभा गरिएको थियो । सभालाई पहिचान पक्षधरका अगुवा गोपाल किराँती, कुमार लिङ्देन, आङकाजी शेर्पा लगायतले सम्बोधन गर्दै कोशी प्रदेश नामकरण गरेर यहाँको ऐतिहासिक पहिचानलाई नामेट पार्न खोजिएको आरोप लगाए । उनीहरूले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा नाम राख्न माग गरे ।

पहिचान पक्षधरले प्रदेशको पुनः नामकरण गरी किरात, किरात–लिम्बुवान जस्ता नाम राख्नुपर्ने माग गर्दै आएका छन् ।

कसरी भएको थियो ‘कोशी प्रदेश’ नामकरण ?

प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नामकरण गर्ने कानूनी प्रावधान छ । सोही बमोजिम गत फागुन १७ गते प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम ‘कोशी’ नामकरण गरेको हो । ९३ सांसद रहेको प्रदेश सभाका ८२ सांसदले कोशी प्रदेशको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम राख्न दुई तिहाइ अर्थात ६२ सांसदको मत आवश्यक पर्ने भएपनि प्रदेश सभाका झण्डै ९० प्रतिशत सांसदले कोशी प्रदेश नामको पक्षमा मतदान गरेका हुन् ।

चार सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ नामको पक्षमा मतदान गरे भने ७ जना सांसद मतदानमा अनुपस्थित थिए । कोशीको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका सांसदले मतदान गरेका थिए भने ‘किरात लिम्बुवान सगरमाथा’ को पक्षमा एकीकृत समाजवादीका सांसदले मतदान गरेका थिए ।

बाँकी ६ वटै प्रदेशले नामकरण गरेपनि प्रदेश १ मा सहमति जुट्न नसक्दा नामकरण गर्न नसकी प्रदेश सभाको पहिलो पाँच वर्षे कार्यकाल त्यसै सकिएको थियो । प्रदेश सभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश सभाले कानुनसम्मत रुपमा प्रदेशको नामकरण टुंग्याएको हो ।

तरपनि आफूले चाहेको नाम नभएको भन्दै पहिचान पक्षधरहरू असन्तुष्ट छन्, उनीहरूले पुनः नामकरण गरी पहिचानसहित प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । यता, कोशी प्रदेश नाम उपयुक्त रहेको भन्दै यसको समर्थन गर्नेको मत पनि बलियो छ ।

कोशी प्रदेशको नाम फेर्ने विषयमा अब छलफल नै हुँदैन: मुख्यमन्त्री कार्की

प्रदेशको नाम फेर्न पहिचान पक्षधरले दवाव दिइरहका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम फेर्ने विषयमा अब कुनै छलफल नै नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना उद्घाटनका लागि ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीले आइतवार रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्वीकार्य रहेकाले अब परिवर्तन नुहँने बताएका हुन् ।

लामो समय नामविहीन बनेको प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोशी’ नाम पारित गरेको बताउँदै उनले नाम संशोधनका विषयमा अब छलफलसमेत नहुने दोहो¥याए । नाम फेर्ने विषय छाडेर अब प्रदेशको समृद्धिमा लाग्न उनले आन्दोलनरत पक्षलाई आग्रह पनि गरे ।

‘काशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन, मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन होइन, नामकै विषयमा छलफलसमेत हुँदैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘हिजो नाम भएन भन्नेहरू आज नाम मन परेन भनेर आन्दोलन गर्दै छन् । यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।’

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले नै जिताएर पठाएका सांसदहरूले कोशी नामकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नभएको प्रष्ट पारे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!