संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाइ अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत शहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाइ थालेको हो ।

Advertisement

अभियानको पहिलो दिन शनिवार पर्डेप नेपालसँगको सहकार्यमा बसपार्कसहित जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचयमोड लगायत बजार तथा सडक क्षेत्रको सरसफाइ गरिएको छ । सरसफाइ अभियानको अगुवाइ गर्दै नगर प्रमुख चिन्तन तामाङ आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए ।

उनीसँगै प्रमुख जिल्ला अधिकारी लिला केसी, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, धनकुटा ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, शसस्त्र प्रहरी प्रमुख डीएसपी दिपक बलामी, सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापा लगायत पनि सरसफाइ अभियानमा कुचो बोकेर निस्किएका थिए ।

अब, नगरलाई थप सफा र सुन्दर बनाउँन अभियानकै रुपमा सरसफाइ गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘विभिन्न संघसंस्था, सुरक्षा निकाय, नगरवासी लगायत सबैसँग सहकार्य गरेर सरसफाइ अभियान थालेका छौं,’ नगर प्रमुख तामाङले भने, ‘धनकुटा नगरलाई अझै सफा र सुन्दर बनाउँन यो अभियानलाई निरन्तरता दिन्छौं ।’

धनकुटा नगरपालिकाले केही साता सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरेर जथाभावी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । जथाभावी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।

चैत महिनाभर सचेतनामूलक सरसफाइ अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभावी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको वातावरण उपशाखा प्रमुख उपेन्द्र खनालले बताए । ‘जथाभावी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गराउँन सक्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ खनालले भने ।

धनकुटा नगर, मुलुककै सफा सहरका रुपमा चिनिन्छ । २०७४ सालमा देशभरको सबैभन्दा सफा सहरका रुपमा धनकुटा नगरलाई सरकारले १० लाख नगदसहित पुरस्कृत गरेको थियो । धनकुटा नगरले हालसम्म नगर क्षेत्रका २ हजार ६ सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरूमा पनि ९ सय ५० वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!