संगालोखबर सम्बाददाता

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकाल्न सफल अदिती जैनलाई विराटनगरस्थित शिक्षादीप माध्यमिक विद्यालयले सम्मान गरेको छ । शिक्षादीपबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदितीलाई विद्यालयले बिहीबार कार्यक्रम गरेर सम्मान गरेको हो ।

Advertisement

अदिती र उनका बुबा अजयकुमारलाई विद्यालयका अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले फूलमाला र अबिर लगाएर सम्मान गरे । अदितीले करिब १८ हजार परीक्षार्थीहरुमध्ये चौथो तथा छात्राहरुमा प्रथम स्थानमा नाम निकाल्न सफल भएकी हुन् ।

सम्मानित भएपछि बोल्दै उनले कक्षा ११ र १२ को पढाइ भविष्य निर्माण गर्ने र जीवनलाई सुखद बाटोमा लगाउने महत्वपूर्ण भएकाले सही विद्यालय छनौट गरी मिहिनेतका साथ अध्ययन गर्नुपर्ने बताइन् । आफ्नो सफलतामा शिक्षादीप विद्यालय परिवारले महत्वपूर्ण मार्गदर्शन तथा योगदान दिएको उनले स्मरण गरिन् ।

विद्यालयका अध्यक्ष पराजुलीले १५ वर्षको उमेरमा विद्यालय हिँडिरहँदा हरेक वर्ष ऐतिहासिक र कीर्तिमानी बनिरहेको बताए । उनले विगत वर्षहरूमा कीर्तिमानीका साथ पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीहरूको पनि स्मरण गरे ।

यस वर्ष चिकित्सा शिक्षा आयोगले फागुन २४ गते लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो । शिक्षादीपबाट कति विद्यार्थीहरूले नाम निकाले यकिन भइनसकेको र सम्पूर्ण सूचना संकलन भएपछि सफल हुने अरु विद्यार्थीहरूलाई पनि सम्मान गरिने प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

शिक्षादीप विद्यालयले २०६५ सालदेखि विज्ञान र वाणिज्य विषयमा कक्षा ११ र १२ कार्यक्रम चलाउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!